सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेस चुनावबाट भाग्दैन–कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चुनावबाट नभाग्ने प्रष्ट गर्नुभएको छ ।

आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय विशेषांक विमोचन गर्दै सभापति देउवाले कांग्रेस अदालती निर्णयको प्रतीक्षामा रहेको खुलाउनुभयो ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै उहाँले अदालतबाट संसद पुनस्र्थापना नभई चुनावमा जाने निर्णय सदर भए कांग्रेस मैदानबाट नभाग्ने पनि प्रष्ट गर्नुभयो ।

सभापति देउवाको भनाइ थियो, ‘सबैभन्दा ठूलो त जनताको अदालत हो नि । हामी किन भाग्ने ? फेरि कांग्रेस त कानुन र अदालतको सम्मान गर्ने पार्टी हो । अदालतमा विचाराधीन रहेको विषयलाई प्रभावित पार्ने काम हामी गर्दैनौं । यो कांग्रेसको परम्परा हो ।’

कार्यक्रममा सभापति देउवाले सूर्यप्रसाद उपाध्यायको पार्टीमा ठूलो योगदान भए पनि सम्मान हन नसकेको स्वीकार्दै आगामी दिनमा उहाँको सम्मानमा कमी हुन नदिने बचनवद्धता व्यक्त गर्नुभयो ।

पञ्चायतको समयमा सूर्यबाबुकै सहयोगमा देशभित्र कांग्रेस बचाउने काम भएको भन्दै उहाँले उपाध्यायको सहयोगबाटै तत्कालीन समयमा प्रजातन्त्रवादीहरुले संरक्षण पाएको पनि बताउनुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले प्रजातन्त्र र कांग्रेस पार्टीमा सूर्यबाबुको योगदान अतुल्य रहेको भन्दै बीपी कोइरालालाई छुटाउनका लागि उहाँले गरेको समन्वयकारी भूमिका उल्लेख्य रहेको स्मरण गर्नुभयो ।

समाजका सभापति डा. केदारनरसिंह केसीले प्रजातान्त्रिक आन्दोलनमा सूर्यप्रसाद उपाध्यायले पुर्‍याएको देनको अवमूल्यन भएको देखेर संस्थाले विशेषांक प्रकाशन गरेको भन्दै कांग्रेसले आफ्ना संस्थापक नेतालाई सम्मान गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद दिव्यमणि राजभण्डारी, लोकेश ढकाललगायत वक्ताले सूर्यप्रसाद उपाध्यायको योगदानबारे आ–आफ्ना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार १६:२७