सूचनाको शक्ति - The Power Of Information

        

धार्केमा निशुल्क मानसिक स्वास्थ्य शिविर

धादिङ । धादिङको धार्के गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । मनोरोग उपचार तथा पुनःस्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा धार्के गाउँपालिकाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

शिबिरमा मनोचिकित्सक प्रा.डा.पुष्पराज शर्माले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए भने मनोविद गोपाल ढकालले मनोपरामर्श सेवा प्रदान गरेका थिए । उक्त शिबिरमा १०० भन्दा धेरै नागरिकले सेवा लिएका थिए । मानसिक स्वास्थ्य परिक्षणपछि सबै बिरामीलाई निशुल्करुपमा औषड्यन्त्रका औषधि समेत वितरण गरिएको थियो ।

शिविरमा आएकामध्ये तीन जना कडा खालको मानसिक स्वास्थ्य समस्यामा परेका ब्यक्तिहरुलाई आवासीय उपचारको प्रबन्ध मिलाइएको थियो । कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष रामकुमार आचार्यले मानिस भौतिकरुपमा मात्र नभई मानसिकरुपमा पनि खुशी र सम्पन्न हुनुपर्ने बताए ।

गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले गाउँपालिकाभित्र रहेका र मानसिक रोगको औषधि सेवन गरिरहेका सबै बिरामीहरुको औषधी खर्च गाउँपालिकाले बेहोर्न जानकारी दिइन् । यस्तो शिविर अबदेखि प्रत्येक तीन महिनामा गरिने भएको छ । धार्के गाउँपालिकाले स्थानीय तहमै पहिलो पटक मनोसामाजिक स्वास्थ्यमा निर्देशिका नै तयार गरेर मानसिक स्वास्थ्यका बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

१० बर्षदेखि सडकको जीवन बिताइरहेका एक जना मनोरोगीको उद्धार गरि गाउँपालिका र मनोरोग उपचार केन्द्रको सहकार्यमा उपचार भइरहेको छ । गाउँपालिकाले आफ्नो सबै बडाहरुमा एक एक जना मनोपरामर्शदाताको समेत ब्यवस्था गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र लामो समयको लकडाउनले जनजीवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्वास्थ्य समस्याहरु देखिएकाले समुदायस्तरमै मानसिक स्वास्थ्यका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताइएको छ ।

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार १२:५०