बर्दिया । नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २००३ मा ६१ जिल्लाबाट सुरु भएको सो अभियान हाल १३ जिल्लामा जारी छ । बाँकेमा सन् २०११ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन शुरु गरिएको थियो ।
तर हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएकोमा स्वास्थ्य क्षेत्रका विज्ञहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । औषधी सेवनमा लापरबाही गर्दा बर्दियामा अझै हात्तीपाइले निवारण हुन सकेको छैन । पढेलेखेका र बुझेकै व्यक्तिले औषधी सेवन नगरिदिँदा दशकसम्म पनि संक्रमण हट्न सकेको छैन ।
हात्तीपाइले रोग निर्मूल नभएपछि बर्दियामा यष वर्ष १० औं चरणको औषधी खुवाइँदैछ । सरकारले वि.सं. २०६७ सालदेखि बर्दियामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउँदै आएको छ । यो वर्ष पनि फागुनको अन्तिम सातातिर हात्तीपाइलेविरुद्धको औषधी खुवाउन लागिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
पहिलो दिन तोकिएका स्वास्थ्य बुथ तथा दोस्रो र तेस्रो दिनमा घरघरै गएर औषधी खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । लगातार ६ वर्षसम्म औषधी सेवन गर्नुपर्ने भनिए पनि बर्दियामा भने परीक्षण क्रममा अझै उक्त रोगको परजीवी भेटिएकाले १० औँ वर्षमा पनि औषधी खुवाइँदैछ ।
उनका अनुसार धेरै मानिसलाई अझै पनि हात्तीपाइले रोगविरुद्धको औषधिबारे थाहै नभएका कारण गलत धारणा व्याप्त रहेको छ । वासस्थान वरिपरि सफा राख्नुपर्ने, लामखुट्टेबाट बच्ने उपायहरू अपनाउनु पर्ने र शरीरको कुनै अङ्ग सुन्निन थाले रगत परीक्षण गराइहाल्नुपर्ने विज्ञहरूको सुझाव छ ।
हात्तीपाइले परीक्षणका क्रममा उक्त रोगको परजीवी १ प्रतिशतभन्दा तल झरेमा मात्रै अभियान सम्पन्न भएको मानिन्छ । सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले निवारण गरिसक्ने लक्ष्य राखिएको थियो । तर, अझै १३ जिल्लामा यो रोगको परजीवी देखिएकाले अहिले २०३० भित्रमा यो रोगलाई निर्मूल पारिसक्ने लक्ष्य छ ।
पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ । यो परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छ वर्ष नियमित औषधि सेवन गर्नै पर्ने चिकित्सकहरू बताउँछन् ।
हात्तीपाइलेको बाहिर देखिने लक्षण वा तत्काल देखिने लक्षणमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनसक्छ ।
त्यसैगरी महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने, खुट्टा सुन्निएर, हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नु पछि अपाङ्गसमेत हुँदा सामाजिक र मानसिकरुपमा पनि असन्तुलित हुने हुनसक्छ ।
यसैबीच, जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले औषधी सेवन गरी यो अभियान सफल पार्न जिल्लावासीलाई आग्रह गरेको छ । २०७३ मा बर्दियाका दुई ठाउँमा हात्तीपाइले रोगको अनुसन्धान तथा परीक्षण गरिएको थियो । ठाकुर बाबा नगरपालिकाको डुम्रेनीमा परीक्षण गर्दा १५ जनामा हात्तीपाइले संक्रमण देखिएको थियो भने बैदिमा ३७ जना संक्रमित भेटिएका थिए ।
२०७५ मा परीक्षण गर्दा पनि डुम्रेनीमा १० जनामा तथा बैदीमा १७ जनामा हात्तीपाइलेको परजीवी भेटिएको थियो । यस्तै, गएको वर्ष पनि बर्दियाका यी दुबै ठाउँका केही स्थानीयमा रोगको परजीवी भेटिएपछि अहिले १० औं चरणको आम औषधी सेवन अभियान सञ्चालन गर्न लागिएको हो ।
नेपाल सरकारले देशभरका ६३ जिल्लाहरूमा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान शुरू गरेको थियो । हालसम्म ५० जिल्लामा उक्त अभियान सम्पन्न भैसकेको छ । बर्दिया, दाङ र कपिलवस्तु लगायत १३ जिल्लामा यो अभियान अझै जारी छ । गलत बुझाई र सेवन गरेपछि यसअघि भएका केही दुर्घटनाका कारण मानिसले औषधी सेवन गर्न आनाकानी गर्ने गरेका छन् ।
ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा संयोजक इन्द्रबहादुर राजवंशीले औषधी सेवनबारे अफवाह, सामाजिक तथा धार्मिक मूल्यमान्यता, प्रत्यक्ष निगरानीमा औषधी सेवन गराउन कठिन, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव लगायतका चूनौतिहरू कायमै रहेकाले रोग पूर्णरूपमा निर्मूल पार्न नसकिएको बताए ।
सत्यपाटी ।