सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै

प्रदर्शनमा शीर्ष तहका नेताहरु सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज शनिबार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।

आज हुने विरोध प्रदर्शनमा शीर्ष तहका नेताहरु सहभागी हुने बताइएको छ। पार्टी सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ को विरोध प्रदर्शनमा सहभागी हुने भएका छन्। देउवाले विरोध प्रदर्शनपछि आयाेजना हुने सभालाई सम्वोधन पनि गर्ने भएका छन्।

कोषाध्यक्ष सीतादेवी यादव काभ्रेको प्रदर्शनमा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौंकाे प्रदर्शनीमार्गमा हुने विरोध सभामा सहभागी हुने भएका छन्।

नेता गगन थापाले आफ्नै निर्वाचन क्षेत्रको कपनमा हुने विरोध सभालाई सम्वोधन गर्ने जनाइएकाे छ। सबै केन्द्रीय नेता विरोध सभामा सहभागी हुने बताउँदै मुख्य सचिव पौडलले भने,‘सबै नेताहरु देशभरका विरोध सभामा खटिनुहुन्छ। को कहाँ सहभागी हुने पूर्ण जानकारी केन्द्रीय कार्यालयमा आइसकेको छैन।’

पुस १९ मा बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।  कांग्रेसले प्रतिनिधिसभा विघटनलाई अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी कदमको भनेकाे छ।

लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण तवरबाट संसद विघटन गरेको कांग्रेसको ठहर छ। केन्द्रीय कार्यसमितिको बैठकलाई सारेर प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले तीन चरणको विरोधको कार्यक्रम घोषणा गरेको छ।

 प्रदेश निर्वाचनलाई थप विकेन्द्रित गर्दै माघ ३ गते देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन र सभाको आयोजना गरिने भएको छ। तेश्रो चरणमा विरोधलाई थप व्यापक बनाउँदै ६,७४३ वडाहरुमा विरोध प्रदर्शन र सभा गरिने कांग्रेसले जनाएकाे छ।

वडा तहको विरोध प्रदर्शन माघ ८ मा हुने भएको छ।

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार ०८:०७