सूचनाको शक्ति - The Power Of Information

        

ओली देश दौडाहामा

प्रधानमन्त्री देश दौडाहामा, आज सुदूरपश्चिममा आयोजित सभालाई सम्बोधन गर्ने

कोरोना संक्रमण झन् बढ्ने चिन्ता

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओली आजबाट देश दौडाहामा निस्कने भएका छन्।

देश दौडाहाका क्रममा आज उनी सुदूरपश्चिम प्रदेशमा आयोजना हुने सभालाई सम्बोधन गर्न त्यहाँ जाँदैछन्।

नेकपा ओली समूहले प्रदेशस्तरीय सभा गर्ने क्रममा सुदूरपश्चिममा पहिलोपटक सभा गर्न लागेको हो। पार्टी फुटपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो।

सभामा ओलीले सम्बोधन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेकपा दाहाल-नेपाल समूहले अवरोध गर्ने सूचना पाएपछि सुरक्षाका लागि कम्तीमा एक हजार सुरक्षाकर्मी धनगढीमा परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ।

पार्टीको सभामा सहभागी हुनेले कालो मास्क लगाउन समेत प्रतिबन्ध लगाइएको छ। पार्टीको सभाका लागि मोटरसाइकलमा जतिसक्दो बढी मानिस ओसार्न पनि पार्टीका नेताहरूले कार्यकर्तालाई निर्देशन दिएको बताइएको छ।

यसलगत्तै ओली अन्य प्रदेशमा आयोजना हुने सभामा सहभागी हुनेछन्।  नेकपा फुटपछि दिनैपिच्छे देशैभर आयोजना हुने भेला, सभा र जमघटले विश्व महामारीका रूपमा फैलिएको कोरोना संक्रमण झन् बढ्ने चिन्ता स्वास्थ्य विज्ञहरूको छ।

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार ०८:०६