सूचनाको शक्ति - The Power Of Information

        

ड्रागन फ्रुट खेती

‘१० बोटबाट बार्षिक ४० हजार आम्दानी’

बाँके । खजुरा गाँउपालिका–४ का तीलक श्रीस मगर वैदेशिक रोजगारीको सिलसिलमा ६ वर्ष मलेसियामा बसे । मलेसियामा ड्रागन फ्रुटको फार्ममा काम गरेका उनले अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती सुरु गरेका छन् ।

सुरुमा एउटा बोटबाट खेती सुरु गरेका मगरको बारीमा अहिले ११० वटा पिलरमा ४४० वटा विरुवा छन् । जसमध्ये १० वटा बोटले आम्दानी दिन थालिसकेका छन् । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँभन्दा बढीको बिक्री भइसकेको मगरले बताए ।

ड्रागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आएकी छन् । कविता ड्रागन फ्रुटको बजारको समस्या नरहेको बताउँछिन् । अहिलेसम्म घरबाटै प्रतिकेजी ६०० रुपैयाँको दरले बिक्री भइराखेको छ । अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रागन फ्रुटको विरुवा लगाएको पनि थापाले बताइन् ।

स्वास्थ्यको लागि लाभदायक भएकाले गाँउपालिकाले ड्रागन खेतीलाई प्रोत्सहन गर्ने भएको छ । गाउँपलिकाले आर्थिक, प्राविधिकरुपले सहयोग गरी किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताए । गाउँपालिकालाई नामुना गाँउपालिका बनाउने योजना भएकाले पनि कृषितर्फ ड्रागन फ्रुटलाई प्राथमिकता दिएर अघि बढ्ने योजना गाउँपालिकाले बनाएको छ ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ११:४७