सूचनाको शक्ति - The Power Of Information

        

सुडान र इजरायलले गरे सम्बन्ध सुधारका लागि हस्ताक्षर

काठमाडौं । सुडानले इजरायलसँग सम्बध सुधारका लागि हस्ताक्षर गरेको छ । गत वर्षको अक्टोबरमा सम्बन्ध सुधारको घोषणा गरिएपछि राजनीतिक दलहरुले अस्वीकार गरेपनि सुडानले पूर्वप्रतिवद्धताअनुसार हस्ताक्षर गरेको हो ।

सुडानको प्रधानमन्त्री कार्यालयले दुवै देशबीच सम्बन्ध थप सुधारका लागि सम्झौता भएको पुष्टि गरेको छ । सम्झौतासँगै सुडानको आर्थिक र सामाजिक विकासका लागि विभिन्न दातृ निकायहरुले सहयोग गर्नेसमेत बताइएको छ ।

विश्व बैंकले १ अर्ब डलर भन्दा बढी वित्तीय सहयोग गर्ने बताइएको छ । सम्झौताले सुडानमा स्थायित्व, सुरक्षा र आर्थिक रुपमा मजबुत बनाउने अमेरिकाले प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुडान र इजरायलको सम्बन्ध सुधार हुने बताएको दुई महिनापछि दुवै देशले सहमति जनाएका हुन् । सुडानका राजनीतिक दलहरुले इजरायलसँगको सम्बन्ध सुधार गर्ने सरकारको योजना अस्वीकार गरेका बेला भएका सम्झौताले मुलकलाई थप फाइदा पुग्ने सरकारी अधिकारीहरुले दावी गरेका छन् ।

गत वर्ष ट्रम्प प्रशासनले इजरायल र संयुक्त अरब इमिरेट्स र बहराइनबीच कुटनीतिक सम्झौता गरेको थियो । एजेन्सी

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ०८:०२