सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहरको दोस्रो लहर

नेपालमा देखियो नयाँ कोरोनाको संकेत, तीन जना संक्रमित

काठमाडौं । नेपालका पनि तीन जनामा बेलायतमा विकसित कोरोना भाइरसको नयाँ भेरिएन्ट (नयाँ प्रजाति)को संक्रमण भएको संकेत पाइएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको हो ।

‘तर हामीकहाँ भएको सिस्टमले त्यसको निर्क्योल गर्न नसक्ने भएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाउँदै छौं,’ डा.पाण्डेले भने । बेलायतबाट फर्केका ७ जनामा कोरोना पोजिटिभ देखिएको र तीमध्ये ३ जनामा नयाँ प्रजातिको संक्रमणको संकेत देखिएको हो । यसको पुष्टि गर्न नमुना यो हप्ताभित्र हङकङ विश्वविद्यालयको प्रयोगशालामा पुर्याउने योजना छ ।

डा. पाण्डेका अनुसार कोरोना महामारी सुरुवातका बेला (जतिबेला नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि तयार भइसकेको थिएन) उहानबाट फर्किएका नेपालीको नमुना जाँच गर्न पठाइएको ठाउँमै अहिलेको नमुना पठाउन लागिएको हो । सुरुमा बेलायतमा देखिएको यो परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ ।

विज्ञका अनुसार पुरानो कोरोनाले हजार जनामा फैलिन सक्छ भने यो १७ सय व्यक्तिमा सर्न सक्छ । तर स्वास्थ्य जटिलताका हिसाबले भने पुरानो कोरोनाभन्दा यसको संक्रमण खासै अन्तर नभएको विज्ञको भनाइ छ । यो नयाँ प्रजातिको कोरोना भाइरस भारतसहित धेरै देशमा फैलिसकेको छ ।

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार ११:३३