सूचनाको शक्ति - The Power Of Information

        

नेपाल–भारत सीमामा लुटिए पुरन, नेपाली नै लुटपाटमा संलग्न

बर्दिया । बर्दियाको मधुवनका पुरन थापा मंगलबार विहान अलपत्र अवस्थामा भुरिगाउँमा भेटिए । झण्डै पाँच महिनाअघि लकडाउनका बेला काम गर्न गएका पुरन वनबासाबाट नेपाल आउने क्रममा लुटिएका हुन् ।

होटलमा सुतिरहेको समयमा मानिसहरूको एक समूहले आफूलाई कुटपिट गरी भएको सबै नगद लुटेर लगेको उनले जानकारी दिएका छन् । ‘पाँच महिना भारतमा रहँदा ३० हजार रुपैयाँ कमाएको थिएँ, तर अपराधीहरूले सबै लुटेर लगे,’ उनले भने, ’अब घर न घाटको भएको छु ।’

आफू लुटिएपछि भारतीय प्रहरीलाई खबर गर्दा कुनै वास्ता नगरेको उनले गुनासो गरे । आफूसँग घरसम्म आइपुग्ने भाडा पनि नभएको अवस्थामा त्यहीँका एक जनाले भाडा तिरेर गाडीमा बसाइदिएपछि आफू भुरिगाउँ पुगेको उनले जानकारी दिए ।

मंगलबार भुरिगाउँ पुगेका थारूलाई केही स्थानीयले घरसम्म पुर्याइदिएका हुन् । नेपाल–भारत सीमा नाकामा थारूजस्ता हजारौं नेपाली लुटिने गरेका छन् । यस्तो लुटपाटमा भारतीय र नेपाली नागरिक पनि संलग्न हुने गरेको स्थानीयहरू बताउँछन् ।

भारतका विभिन्न शहरमा मजदुरी गरी गौरीफन्टा नाकाबाट घर फर्कनेहरूमाथि भारतीय सुरक्षाकर्मीले समेत दुर्व्यवहार गर्ने गरेका छन् । विगतमा यो क्रम दशैँतिहार लगायत चाडपर्वका बेला बढी हुन्थ्यो । तर, यसपालि भने अरू समयमा पनि लुटपाटका घटना चाडपर्वको बेलाभन्दा दोब्बरले बढेको छ ।

सीमा क्षेत्रमा हुने यस्तो ज्यादती रोक्न खटिएका सुरक्षाकर्मीले नै बेवास्ता गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् । सीमा जोडिएका जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सम्मिलित समकक्षीहरूको बैठकमा भारत र नेपालका सुरक्षाकर्मीहरूले सेवा सुधार गर्ने प्रतिबद्धता जनाएपनि नेपालीमाथि हुने लुटपाट रोकिएको छैन । भारतबाट फर्किएका नेपालीहरूले आफूहरू निकै समस्यामा पर्ने गरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार ०९:१०