सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश छाड्ने !

काठमाडौं । अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गरेर औपचारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नु ठिक अघि हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले देश छाड्ने तय भएको रिपोर्टमा दावी गरिएको छ । द गार्डियनमा प्रकाशित समाचार अनुसार बाइडेनको शपथ ग्रहणको अघिल्लो दिन ट्रम्पको आधिकारिक जहाज स्कटल्याण्ड जाँदैछ ।

बाइडेनको शपथ ग्रहण समारोहमा ट्रम्प सहभागी नहुने रिपोर्टमा दावी गरिएको छ । ट्रम्पले अहिलेसम्म आफू निर्वाचनमा पराजित भएको स्वीकार गरेका छैनन् । बाइडेनको शपथ ग्रहण २० जनवरीमा हुँदैछ । ह्वाइट हाउसले ट्रम्पको आगामी योजनाबारे जानकारी दिन अस्वीकार गरेको छ । केही विश्लेषकहरुले भने बाइडेनले औपचारिकरुपमा राष्ट्रपतिको जिम्मेवारी लिनुअघि ट्रम्पले अप्रत्याशित कदम उठाउन सक्ने पनि अनुमान गरेका छन् ।

केही रिपोर्टमा भने ट्रम्प फ्लोरिडास्थित आफ्नो निजी क्लवमा जान सक्ने दावी पनि गरिएको छ । स्कटल्याण्डको प्रमुख अखबार सन्डे पोस्टले भने ट्रम्पको स्कटल्याण्डस्थित टर्नबेरी गल्फ कोर्स रिसोर्ट नजिकै प्रेस्टविक एयरपोर्टमा १९ जनवरीमा अमेरिकी सैन्य विमान बोइङ ७५७ आउने सूचना दिइएको दावी गरेको छ ।

रिपोर्टका अनुसार नोभेम्बरमा टर्नबेरीको आसपासको क्षेत्रमा अमेरिकी सैन्य विमानलाई निरीक्षण गरिरहेको देखिएको थियो । सम्भवतः यो ट्रम्प आउनुअघिको तयारी हुन सक्ने मानिएको छ । यो रिपोर्टसँगै बाइडेनको कार्यकालको पहिलो दिन नाटकीय घटनाक्रम हुने अनुमान तीब्र भएको छ । अमेरिकाको इतिहासमा कुनै राष्ट्रपतिले पद छोड्नुभन्दा पहिले देश छोडेमा यो निकै अनौठो घटना हुनेछ ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १५:०८