बाँके । बैजानाथ गाउँपालिकामा आरन पेशा अँगालेर जीविकोपार्जन गर्ने परिवारको संख्या धेरै छन् । आरन पेशा गर्नेहरुले गाउँकै मानिसहरुको बालीघरे बस्ने र वर्षभर फलामको काम गरेबापत ज्यालाको रुपमा अन्न लिने प्रचलन छ । यसरी काम गर्दा जीवन निर्वाह भए पनि अतिरिक्त बचत नहुँदा समस्या हुने गरेको गुनासो आरन पेशा अँगाल्नेहरुको छ ।
बैजानाथ–८ का प्रेमबहादुर विकले ३५ वर्षदेखि फलामका औजारहरु बनाएर जीवनयापन गर्दै आएका छन् । आफ्नो जीवन निर्वाह गर्न बालीघरे (खलो) प्रथामा फलामका सामग्री बनाउने र त्यसको सट्टामा ज्याला स्वरुप अन्न लिने गरिन्छ । विकले अहिले करिब १०० घरधुरीको फलाम पिट्ने काम गर्दै आएका छन् ।
लामो समयदेखि आरन पेशा अपनाएका विकले निर्वाहबाहेक जीवनका कुनै परिवर्तन नआएको गुनासो गरे । वर्षभरि काम गरेबापत अन्नपात ल्याएर परिवार पाल्नुबाहेक अन्य कुनै प्रगति नभएको उनको भनाइ छ । एसएलसी उत्तीर्ण गरेका विकले आरन पेशालाई व्यावसायिक बनाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।
बैजानाथ–६ का बिन्दु सुनारले पनि २७ वर्षदेखि फलाम पिट्ने काम गर्दै आएका छन् । उनले पनि बालीघरे प्रथाअनुसार नै ज्यालाको रुपमा अन्न लिन्छन् । आरन पेशाबाट घरमा .खाने कुराको अभाव नभएको तर दुःख गरे अनुसारको मूल्य नपाएको गुनासो उनको छ । यस्तै, पछिल्लो समय निकुञ्ज स्थापना भएपछि फलाम पोल्ने गोल पाउनै मुस्किल भएकाले आरन पेशा संकटमा पर्न लागेको विन्दुले बताए ।
बाँकेभित्र अहिले पनि बालीघरे प्रथामा आरन काम गर्ने दर्जनौं छन् । वर्षभरि काम गर्ने र त्यसको ज्याला स्वरुप अन्नपात ल्याउने भएकाले उनीहरुको जीवनमा कुनै परिवर्तन भने आएको छैन । बालीघरे प्रथाबाट श्रमअनुसारको मूल्य पाउन नसक्ने भएकाले यो पेशालाई आधुनिकीकरण र व्यावसायिक बनाई नगदमा कारोबार गर्ने व्यवस्था गर्न धेरै परिवारको जीवनमा परिवर्तन आउनेछ ।
सत्यपाटी ।