सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा ट्रयाक्टर दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

बैतडी  । सिगास गाउँपालिका–९ बाजपानीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

डडेल्धुराबाट बझाङतर्फ गइरहेको अनटेस्ट ट्रयाक्टर आइतबार राति २ बजे खोडपे बझाङ सडकखण्डको बाजपानीमा दुर्घटना भएको हो।

दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो। बित्थडचिर–५ का ट्रयाक्टर चालक ३२ वर्षीय नरेन्द्र महरा र बित्थडचिर–४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएको खोडपे प्रहरी चौकीले जनाएको छ।

चालक महराको दुवै खुट्टा भाँच्चिएको छ। कृष्ण बोहराको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको छ।

ट्रयाक्टर सडकबाट १७८ मिटर तल खसेको खोडपे प्रहरी चौकीका चन्द्रदेव भट्टले जानकारी दिए। दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार ०९:१६