काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली भएर अकिकाशं स्थानमा वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम, कर्णाली, गण्डकी प्रदेशका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ को थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ ।
त्यसैगरी आज राति पनि देशभर मौसममा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकाको मौसम पनि बदली रहने र छिटफुट वर्षा हुने महाशाखाले जनाएको छ ।
आज बिहानैबाट काठमाडौंमा हल्का वर्षा भएको छ । काठमाडौंको तापक्रम आज बढी नै भएपनि हल्का वर्षा भएपछि थप चिसो बढेको छ । देशका उच्च भेगमा हिमपात र बर्षा हुने सम्भावना रहेकोको पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउनहुन पनि महाशाखाले अनुरोध गरेको छ ।
‘बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ। महाशाखाका अनुसार बुधबारबाट मात्रै मौसम सफा रहने छ ।
काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ५६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २२ मिनेटमा हुनेछ ।
सत्यपाटी ।