बाँके । बाँकेको सिमावर्ती नरैनापुर गाउँपालिकाका विभिन्न नाकाबाट गिट्टी, मोरङ्ग र बालुवाको तस्करी हुँदै आएको छ । नेपाली तस्करहरुले गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ पठाउने गरेका छन् । भारतीय तस्करहरुले महङ्गो मूल्यमा गिट्टी, मोरङ्ग र बालुवा खरिद गर्ने भएकाले नरैनापुरका सिमावर्ती क्षेत्रमा तस्करी बढेको छ ।
नेपालमा भन्दा भारतमा गिट्टी, मोरङ्ग र बालुवाको मूल्य धेरै पर्ने भएपछि नेपालबाट भारततर्फ नदीजन्य पदार्थको तस्करी मौलाएको छ । राजश्व चुहावट तथा नियन्त्रणका लागि सिमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीकै मिलेमतोमा गिट्टी, मोरङ्ग र बालुवा तस्करी भइरहेको स्थानीयहरुको आरोप छ ।
सशस्त्र प्रहरीकै मिलेमतोमा प्राकृतिक स्रोतको अवैध उत्खनन् र दोहनमा तस्करहरु सक्रिय रहेका छन् । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट नरैनापुरका प्रहरी निरीक्षक नरेश बाटाले तस्करहरुलाई लाइन दिएपछि गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ निकासी हुने क्रम बढेको नरैनापुरका स्थानीयहरुको आरोप छ ।
तस्करले दिउँसो गिट्टी, मोरङ्ग र बालुवा संकलन गर्ने र रातीको समयमा भारततर्फ निकासी गर्दै आएका छन् । स्थानीयहरुका अनुसार प्रहरी निरीक्षक बाटाले तस्करहरुले लाइन दिएपछि नरैनापुर गाउँपालिकाका सीमावर्ती कोटिया नाका र नरैनापुर खोलाको मार्ग भएर गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ निकासी हुँदै आएको छ ।
अवैधरुपमा गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ निकासी हुँदा सशस्त्र प्रहरीले सहयोगी भूमिका निर्वाह गरिरहेको नरैनापुर गाउँपालिका–४ का मेराज खाँ बताउँछन् । नेपाल–भारत सीमावर्ती नाका कोटियास्थित कोटिया विद्यालय र नरैनापुर खोलामा रहेको सशस्त्र प्रहरी पोष्टमार्फत गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ निकासी हुँदै आएको छ ।
नेपालबाट गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ निकासी गर्न प्रतिबन्ध रहेको छ । तर, सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि २४ घण्टा नै सशस्त्र प्रहरी परिचालित हुँदा पनि खुलेआम नदीजन्य पदार्थ भारततर्फ निकासी हुनुले सशस्त्र प्रहरीको भूमिका तस्करमैत्री रहेको नरैनापुर–२ का युसुफ अन्सारीको दावी छ ।
नेपालबाट दैनिक ३० देखि ४० वटासम्म ट्रयाक्टरमार्फत गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ निकासी भइरहेको छ । गिट्टी, मोरङ्ग र बालुवाको मुुल्य उच्च छ । भारतमा प्रतिट्राली गिट्टी १५ हजार भारतीय रुपैयाँ, मोरङ्ग १० हजार भारतीय रुपैयाँ र बालुवा ५ हजार भारतीय रुपैयाँमा विक्री हुँदै आएको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट नरैनापुरका प्रहरी निरीक्षक बाटाको निर्देशनमा कोटिया विद्यालय र नरैनापुर खोलामा रहेको सशस्त्र प्रहरी पोष्टमार्फत गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ निकासी हुँदै आएको नरैनापुर–३ का रिजवान शेख बताउँछन् । सशस्त्र प्रहरीले तस्करलाई लाइन दिएबापत मोटो रकम असुल्दै आएको उनले बताए ।
भारतीय क्षेत्रबाट आउने ट्रयाक्टरहरुले गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ निकासी गरिरहेको स्थानीयहरुको भनाई छ । दैनिक ३० देखि ४० वटा ट्रयाक्टर भारतबाट नेपाली भूमिमा आएर यहाँका तस्करहरुसँगको समन्वयमा गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरेर मध्यरातमा निकासी गरिरहेको शेखको भनाई छ ।
तस्करहरुले नरैनापुर खोला, बालापुर खोला र कालाफाँटाको उत्तरतर्फ रहेको चुरे क्षेत्रबाट गिट्टी, मोरङ्ग र बालुवा उत्खनन् गर्दै आएका छन् । त्यसो त राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत रहेका चुरे क्षेत्रमा गिट्टी, मोरङ्ग र बालुवा उत्खनन् प्रतिबन्ध गरिएको भए पनि तस्करहरुले चुरे क्षेत्रको दोहन गरिरहेका छन् ।
सशस्त्र प्रहरीकै संरक्षणमा गिट्टी, मोरङ्ग र बालुवा उत्खखन् गरेर भारततर्फ निकासी भइरहेको स्थानीयहरु बताउँछन् । नरैनापुरका नाकाहरुबाट अवैधरुपमा गिट्टी, मोरङ्ग र बालुवामात्रै नभएर केराउ, डिजलसमेत अवैधरुपमा भारततर्फ निकासी हुँदै आएको छ भने लत्ताकपडा, दैनिक उपभोग्य बस्तु तस्करी भएर नेपाल भित्रिने गरेको छ ।
बोर्डर आउट पोष्ट नरैनापुरका सशस्त्र प्रहरी निरीक्षक नरेश बाटाले आफूमाथि लगाइएको आरोपमात्रै भएको बताए । ‘मेरो क्षेत्रबाट गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ निकासी भएकै छैन । यो गलत आरोपमात्रै हो । यो हुनै नसक्ने हल्ला हो । यसमा कुनै सत्यता छैन,’ सशस्त्र प्रहरी निरीक्षक बाटाले भने ।
उनले आफू मातहतका कुनै पनि युनिटबाट गिट्टी, मोरङ्ग र बालुवा भारततर्फ निकासी नभएको दावी गरे । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले आफूलाई गिट्टी, मोरङ्ग र बालुवा तस्करी हुने गरेको कुनै जानकारी नआएको बताए ।
सशस्त्र प्रहरी उपरीक्षक बमले तस्करी भएको प्रमाण भेटिए कारवाही गर्ने बताउँदै भने ‘यस विषयमा मलाई जानकारी छैन, तत्कालै बुझेर तस्करी नियन्त्रणका लागि निर्देशन दिन्छु ।’ सीमामा हुने चोरी तस्करी नियन्त्रणका लागि जिल्लाका सीमावर्ती क्षेत्रमा रहेका सबै युनिटलाई निर्देशन दिएको पनि जानकारी दिए ।
सत्यपाटी ।