सूचनाको शक्ति - The Power Of Information

        

केन्द्रीय समितिको बैठक

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडकमा जान नेतृत्वलाई दबाव दिइने

प्रतिनिधि सभा विघटन विरुद्ध रणनीति बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन काँग्रेस पुस ७ गतेदेखि केन्द्रीय समितिमा जुटेको हो।

सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने र आन्दोलन तताउन नमिल्ने बताउँदै आएका छन्। यता देउवाइतर पक्षले भने अदालतलाई दबाव दिन भने पनि सडक तताउनुपर्ने पक्षमा जोड दिँदै आएको छ।

यसैबीच काँग्रेसले पुस १३ गते देशभरका निर्वाचन क्षेत्रमा प्रदर्शन गर्‍यो। यसैगरी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनायो। यसक्रममा देउवा पक्षधरले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्नु चुनावी तयारी भएको बताएका छन्।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलगायतले भने प्रतिनिधि सभा पुनर्स्थापनाका लागि नेतृत्वले निर्णय गर्नुपर्ने र सडक आन्दोलनमा जानुपर्नेमा जोड दिँदै आएका छन्। आजको बैठकमा पनि यसबारेमा जोड दिइने पौडेल पक्षको तयारी छ।

प्रकाशित मिति : १९ पुष २०७७, आइतवार ०७:२२