सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानमा फेरि अर्का पत्रकारको हत्या

काठमाडौं । अफगानिस्तानमा एक पत्रकारको हत्या भएको छ।

घोर प्रान्तमा बन्दुकधारीको आक्रमणमा स्थानीय रेडियो स्टेशनका प्रधान सम्पादक बिस्मिल्लाह अइमकको मृत्यु भएको हो। पछिल्लो दुई महिनामा कम्तिमा पाँच पत्रकारको अफगानिस्तानमा हत्या भएको छ।

रिपोर्टस विथआउट बोडर्सका अनुसार महिना दिनअघि पनि अइमकको हत्या प्रयास भएको थियो। त्यो बेला बाँच्न सफल भएका उनको शुक्रबार हत्या भएको हो।

पछिल्लो समय अफगानिस्तानका अधिकारकर्मी तथा सरकार पक्षधर व्यक्तिहरुलाई निशाना बनाउन थालिएको छ। हत्याका धेरै घटनामा कुनै पनि बिद्रोही समूहले जिम्मा लिएका हुँदैनन्।

तर सरकारी अधिकारीले त्यस्ता अधिकांश घटनामा तालिबानको संलग्नता हुने गरेको बताउने गरेका छन्। पत्रकार तथा अरु अधिकारकर्मीमाथि भएका आक्रमणको संयुक्त राष्ट्रसंघ, नेटो तथा युरोपियन युनियनले निन्दा गर्दै आएका छन्।

घोरको राजधानी फेरोज कोह नजिकै अइमक सवार गाडीमा बन्दुकधारीले आक्रमण गरेका हुन्। नजिकै रहेको गाउँमा परिवारसँग भेट गरेर फर्किँदै गर्दा उनीमाथि आक्रमण भएको हो। गाडीमा रहेका अइमकका भाइलाई भने केही भएको छैन।

यसअघि पत्रकारहरु राहमतुल्लाह नेक्जाद, मलाला माइवान्द, यामा सिएवाश र एलियास दायी तथा चलचित्र निर्देशक सबा साहरको हत्या भएको थियो।

प्रकाशित मिति : १८ पुष २०७७, शनिबार ११:४९