सूचनाको शक्ति - The Power Of Information

        

बाघको आक्रमणबाट बर्दियामा महिला बेपत्ता, बारामा कारको ठक्करबाट पाटेबाघको मृत्यु

बर्दिया । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभार नजिक पाटे बाघले एक महिलालाई बेपत्ता पारेको छ । मोटरसाइकलमा सवार कैलालीको लम्किचुहा नगरपालिकाकी नन्दकला थापालाई बाघले झम्टेर बेपत्ता पारेको हो ।

गएराति नेपालगन्जबाट कैलाली जाँदै गरेको आमा छोरा सवार मोटरसाइकलको पछाडी बसेकी थापालाई बाघले झम्टिएको थियो । मोटरसाइकल चालक महिलाका छोरालाई सामान्य चोट लागेको छ । नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

यता, बाराको जितपुर सिमरा उपमहानगरपालिका आधारभार जंगल क्षेत्रमा कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो काट्दै गरेको गर्दै गरेको बाघलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : १८ पुष २०७७, शनिबार ११:२६