काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ । आयोगले हिजो दुवै समूहलाई पत्र पठाएको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।
आयोगले राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिम विवरण प्रस्तुत गर्नका लागि जानकारी माग गरेको थपलियाले बताउनुभयो । अनुसूची १८ दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा हो । जसमा दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा हेरफेर गर्नु पर्ने भए त्यस विषयमा जानकारी गराउनु पर्ने हुन्छ ।
त्यसमा कुन मितिमा कुन केन्द्रीय समितिबाट के विवरण परिवर्तन भएको हो भन्ने विषयको निर्णय गरिन्छ । दाहाल–नेपाल समूहमा रहेका बहुमत केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै पार्टीको अध्यक्षबाट हटाएका छन् ।
अर्कोतर्फ अध्यक्षको हैसियतमा ओलीले केन्द्रीय समितिको संख्या ११ सय ९९ पुर्याएको निर्णय गर्दै ५ सय ४६ लाई मनोनय गर्नुभएको थियो । निर्वाचन आयोगमा ४ सय ४७ सदस्यीय केन्द्रीय सदस्यहरुको नाम रहेको छ ।
सत्तारुढ नेकपा विभाजनको क्रममा गएपछि प्रधानमन्त्री ओली नेतृत्वको पक्ष र दाहाल–नेपाल नेतृत्वको नेकपा दुवैले आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको पक्षले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा गई आफूहरु नै मूल पार्टी भएको हुँदा पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग हुनुपर्ने दाबी गरेको छ ।
सत्यपाटी ।