सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

काठमाडौं । पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली रही बिहीबार देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम आंशिक रुपमा बदली हुने भएको हो । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो प्रदेश १ मा आंशिक बदली तथा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । देशका अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ मा आंशिक बदली तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

यसैबिच तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार ०८:५०