सूचनाको शक्ति - The Power Of Information

        

नर्वेको राजधानी ओस्लो नजिकैको गाउँका घर पहिरोले पुर्‍यो, ११ जना बेपत्ता

काठमाडौं । नर्वेको राजधानी ओस्लो नजिकैको एक गाउँमा पहिरो गइ घर पुरिँदा ११ जना बेपत्ता भएका छन्।

पहिरोले गाउँका घर पुरिँदा १० जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धारकर्मीहरुले बेपत्ताहरुको खोजी जारी राखेका छन् । राजधानी ओस्लोबाट २५ किलोमिटर उत्तर–पश्चिममा रहेको जेर्ड्रूम गाउँमा पहिरो गएको हो । बेपत्ता हुनेमा बालबालिका पनि छन् ।

पहिरो गएको गाउँबाट झण्डै ९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । केही मानिसहरु अझै पनि पहिरोको हिलोमा फँसेको हुन सक्ने प्रहरीले बताएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहानदेखि पहिरो जान थालेको थियो । स्थानीयले आफ्ना घरहरु पहिरोसँगै बग्न थालेको भनेर आपतकालीन सेवालाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार ०८:४८