सूचनाको शक्ति - The Power Of Information

        

यमनको एक विमानस्थलमा विस्फोट हुँदा २२ जनाको मृत्यु

काठमाडौं  । दक्षिणी यमनको एक विमानस्थलमा भएको विस्फोटमा परेर कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

अडेन शहरको विमानस्थलमा भएको विस्फोटमा परेर ५० जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विस्फोटलगत्तै साउदी समर्थित नव गठित सरकारका मन्त्रीहरु सवार विमान अवतरण गराइएको थियो । विमान सुरक्षित रहेको त्यहाँको सरकारले जनाएको छ ।

विस्फोटको हालसम्म कसैले जिम्मा नलिएपनि लामो समयदेखि सशस्त्र द्वन्द्वमा रहेको विद्रोही समूहको संलग्नता रहेको यमनमा सूचनामन्त्री मोहम्मर अल–एरियानीले इरान समर्थित होथी विद्रोहीको संलग्नता रहेको आरोप लगाउनुभएको छ ।

सो आक्रमणको केही समयपछि राष्ट्रपति भवन नजिकै अर्को विस्फोट भएको बताइएको छ ।

प्रधानमन्त्री मइन अब्दुमालिक लगायत मन्त्रिपरिषद सहस्यहरु र यमनका लागि साउदी राजदूतहरुलाई सुरक्षित रुपमा राखिएको स्थान नजिकै दोस्रो विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।

दोस्रो पटक भएको विस्फोटको क्षतिबारे केही जानकारी गराइएको छैन ।

साउदीको सरकारी टेलिभिजनमा विस्फोटपछिको अवस्थाका दृष्यहरु देखाइएको थियो ।

यमनमा सन् २०१५ यता बढेको द्वन्द्वका कारण एक लाख भन्दा बढीको मृत्यु भइसकेको छ ।

सन् २०१९ मा सैन्य परेड जारी रहेका बेला होथी विद्रोहीले आक्रमण गर्दा ३६ जना सुरक्षाकर्मीको निधन भएको थियो । (एजेन्सी)

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार ०८:३४