सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । दाङको लमहीमा जारी रहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा बिहीबार (आज) समूह ‘बी’ का दुई वटा खेल हुँदैछन् । पहिलो खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ ।

भने दोश्रो खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच प्रतिष्पर्धा हुने छ । प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगिसकेको छ । बुधबारको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएर प्रदेश १ अन्तिम चारमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । यस्तै हिजोको दोस्रो खेलमा बागमती प्रदेशले गण्डकीलाई ६५ रनले हराएको छ ।

बागमतीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको गण्डकीले ५ विकेट गुमाएर जम्मा ८८ रन बनाउन सक्यो । बागमतीले सेमिफाइनलको आशा कायमै राखेको छ ।

गण्डकी भने बाहिरिएको छ । समूह ‘ए’ बाट एपीएफ र लुम्बिनी सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार ०८:३१