सूचनाको शक्ति - The Power Of Information

        

आन्दोलनको प्रतिस्पर्धा

नेकपाको विभाजित प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

आज स्थायी कमिटीको बैठक

काठमाडौं । विभाजित सत्तारूढ नेकपाभित्र कार्यक्रम र आन्दोलनको प्रतिस्पर्धा नै सुरु भएको छ ।

यसैबीच नेकपाको विभाजित समूह पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमकविरूद्ध प्रचण्ड नेपालले पुस १० गतेदेखि आन्दोलनको घोषणा गरेका थिए ।

मङ्गलबार जनप्रदर्शनका साथ विरोध सभाको आयोजना गरेर पहिलो चरणको आन्दोलन सकेपछि आज पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बसेर अर्को चरणको आन्दोलनको तयारी गर्न थालेका हुन् ।

आजै आन्दोलनको कार्यक्रम घोषणा हुने स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिएका थिए ।आज स्थायी कमिटीको बैठक बोलाइएको र दिउँसो ३ बजे दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने बताइएको छ ।

यसैबीच प्रचण्ड–नेपाल समूहले पुस १७ गतेभित्र सबै प्रदेश कमिटीहरूको बैठक, भेला सकिसक्ने निर्णय यसअघि, पुस ९ गते सकिएको तेस्रो केन्द्रीय कमिटी बैठकले नै गरेको छ ।

यस्तै पुस २० गते नगर र गाउँपालिका तहका कमिटीहरूको बैठक भेला र पुस २५ गतेभित्र गाउँ–नगरका वडा तहका कमिटीहरूको बैठक, भेला सक्ने निर्णय पनि गरेका छन् ।

उता प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि सातै प्रदेशमा संयोजक तोकेर जनपरिचालनलाई तीव्रता दिएको बताएको छ ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार ०९:०३