सूचनाको शक्ति - The Power Of Information

        

देउवासँगको भेटमा चिनियाँ टोलीले भन्यो- कांग्रेस पनि हाम्रो असल मित्र हो

काठमाडौं ।  चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको टोली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

भेटका क्रममा चिनियाँ टोलीले नेपाली कांग्रेस आफ्नो असल मित्र भएको बताएको छ। देउवा निवास बुढानिलकण्ठस्थित सोमबार बिहान चिनियाँ टोली र देउवाबीच भेटवार्ता भएको हो।

भेटमा नेपालमा भएको राजनीतिक परिवर्तन तथा दुई देशबीचको आपसीहित सम्बन्धमा छलफल भएको छ। कांग्रेसका पूर्वपरराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्रविद‍् दिनेशचन्द्र भट्टराई पनि सहभागी थिए।

पराराष्ट्रविद‍् भट्टराईले दुई देश बीचको सम्बन्धका बारेमा हार्दिक छलफल भएको अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।  चिनियाँ टोलीले नेपालको आन्तरिक विषयमा राजनीतिक दल मिलेर अगाडि बढ्न पनि सल्लाह दिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष दूतका रूपमा नेपाल आएको कुओ नेतृत्वको टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेको छ। त्यस्तै आइतबार अपराह्न बालुवाटारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि टोलीले भेटिसकेको छ।

राजनीतिक भेटघाटलाई तीव्रता दिएको टोलीले नेकपाको अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग पनि सोमबार भेटवार्ता गरिसकेको छ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १२:२४