सूचनाको शक्ति - The Power Of Information

        

मतदाता नामावली अध्यावधिक गर्दै निर्वाचन आयोग, युवा मतदाता नछुटाउने रणनीति

काठमाडौं । सरकारले आगामी वैशाखमा दुई चरणमा प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले तयारी थालेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछिको विवाद सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेपनि आयोगले मतदाता नामावली अध्यावधिक गर्न थालेको हो ।

आयोगले सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले यसपटक सकेसम्म युवा मतदाता नछुटाउने गरी अद्यावधिक गर्ने जनाएको छ । आयोगले निर्वाचनको कार्यतालिका तयार पार्ने गृहकार्यसमेत सुरु गरेको जनाएको छ ।

आयोगको कर्मचारी तहले कार्यतालिका तयार पारेपछि आयोगका अध्यक्षसहितको टोलीले त्यसलाई अनुमोदन गरेर अन्तिम रुप दिने छ । त्यसैगरी निर्वाचन गराउनका लागि आवश्यक पर्ने सामग्रीहरुको बारेमा समेत तयारी गरिएको छ ।

निर्वाचनका लागि आवश्यक बजेटका सम्बन्धमा पनि गृहकार्य भइरहेको छ । यस पटक निर्वाचनका लागि भने खासै नयाँ कानुन नचाहिने र पुराना कानुनले नै निर्वाचन गराउन सकिने आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १२:०४