सूचनाको शक्ति - The Power Of Information

        

निर्माण व्यवसायी महासंघका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार गरेको आरोपमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आयोजना निर्माणका क्रममा तीन करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा  सिंहसहित पाँचजनाविरुद्ध सोमबार विशेष अदालतलमा मुद्दा दायर गरेको हो ।

अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध–निर्देशक हुन् । उनीसँगै आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डवप्रसाद देवविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै, महादेव खिम्ती र मैनाचुली जेभीका साझेदार मैनाचुली निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा महादेव खिम्ती र मैनाचुली जेभीका आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही)विरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार रनिङ बिलदेखि सातौँ रनिङ बिलसम्मका सातैवटा बिलको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी स्टड निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्याबिन तारलाई स्वीकृत स्पेसिफिकेसनबमोजिम गुणस्तरयुक्त भएको भनी प्रतिवेदन दिएर भुक्तानी दिइएको छ ।

अख्तियारले तीन करोड ६५ लाख नौ हजार चार सय ६५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार ०८:४९