सूचनाको शक्ति - The Power Of Information

        

पुस २० देखि कोहलपुर ओपन क्रिकेट हुने

बाँके । शारदा एजुकेसन पार्कको आयोजनामा यही पुस २० गतेदेखि २८ गतेसम्म बाँकेको कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ। आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको अधिकारिक घोषणा गरेको हो ।

प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्ने छ। बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरले प्रायोजन गर्ने प्रतियोगितामा देशभरका बिभिन्न शहरका टिमहरु सहभागी हुनेछन् ।

लुम्बिनी प्रदेश लगायत काठमाडौँ, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत जस्ता विभिन्न स्थानका १६ टोलीहरु नकआउट प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक विनायक गिरिले जानकारी गराए ।

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी, उत्कृस्ट ब्याट्सम्यान र उत्कृस्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका खेलहरु कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । आयोजक शारदा एजुकेसन पार्कका प्रमुख रोनिस गौतमले आफ्नो संस्थाले खेलकुदलाई प्रवर्द्धन गर्दै आएको बताउँदै यसलाई निरन्तरता समेत दिने बताए ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार ०८:४५