सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड र नेपाल समूह

प्रचण्ड नेपाल समूहले आज देशैभर प्रदर्शन गर्ने, भृकुटीमण्डपमा शीर्ष नेताको सम्बोधन

उपत्यकामा विभिन्न ८ स्थानबाट जुलुस निस्कने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोध जनाउँदै आन्दोलनरत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबार देशैभर प्रदर्शन, जुलुसको आयोजना गर्ने भएको छ ।

मंगलबार बिहान ११ बजेदेखि देशैभर प्रदर्शन हुने नेकपाका नेताहरूले जनाएका छन् । काठमाडौं उपत्यकामा विभिन्न ८ स्थानबाट जुलुस निस्कने अनेरास्ववियू प्रचण्ड–नेपाल समूहका संयोजक रञ्जित तामाङले जानकारी दिए ।

उनका अनुसार उपत्यकाको बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट जुलुस निस्कने छ । युवा सङ्घले बागबजारबाट र अनेरास्ववियूले घन्टाघरबाट जुलुस निकाल्ने तयारी गरेको उनले जानकारी दिए ।

नेकपाले आजको प्रदर्शनमा काठमाडौंमा मात्रै एक लाख मानिस उतार्ने तयारी गरेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यसअघि नै बताइसकेका छन् ।आजको प्रदर्शनका लागि उपत्यकाका आसपासका जिल्लाहरूमा गरिने प्रदर्शन पनि काठमाडौं नै केन्द्रित गरिएको छ ।

पूर्व सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरको जुलुस बानेश्वरबाट निस्कने छ । मकवानपुर, चितवन, धादिङको जुलुस टेकुमा मिसिने छ । नुवाकोट, रसुवाका लागि लैनचौर तय गरिएको छ । ललितपुरको जुलुस कुपनडोलबाट सुरु भएर भृकुटीमण्डप आइपुग्ने नेकपाले बताएको छ ।

भृकुटीमण्डपमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार ०८:२८