काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गरेको छ ।
विघटित संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गरेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली निस्केको छ भने सभामा नेताहरुले सम्बोधन गर्दैछन् ।
भक्तपुरको मध्यपुर थिमीको सभालाई पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।
महामन्त्री डा. शशांक कोइरालाले आफ्नै निर्वाचन क्षेत्र नवलपुरमा सम्बोधन गर्दा पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिक रुपले विभाजित छ ।
औपचारिकताका लागि विरोध कार्यक्रम तय गरेपनि सभापति शेरबहादुर देउवा नै निर्वाचनको पक्षमा रहेको अर्को पक्षको आरोप छ ।
सत्यपाटी ।