सूचनाको शक्ति - The Power Of Information

        

नेकपामा पार्टी कार्यालय कब्जाको होडबाजी

संसद् विघटन विभाजित नेकपाका कार्यकर्ता ‘कतै ताला लगाउँदै, कतै फोड्दै’

काठमाडौं । एक साताअघि सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै नेकपा विभाजन भएको छ । तर, सत्ताधारी नेकपा विभाजनसँगै आधिकारिकताको टुंगो लागेको छैन । अध्यक्ष केपी शर्मा ओली पक्ष र अध्यक्षद्वय प्रचण्ड–नेपाल पक्षले आफूलाई आधिकारिक दावी गरिरहेका छन् ।

नेकपाको विभाजनसँगै नेता–कार्यकर्ताहरू पार्टी कार्यालय कब्जाको रणनीतिमा अघि बढेका छन् । यसको शुरूआत पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ताला लगाएर प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पक्षले गरेको थियो । पहिल्यैदेखि विवाद झेलिरहेको नेकपा विभाजनको तत्कालीन कारण त्यही संसद् विघटन थियो ।

त्यसयता ओलीले एउटा पक्षको नेतृत्व गर्दै बैठक भेला सञ्चालन गरिरहेका छन् भने अर्का पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपालले अलग्गै पक्षको बैठक, भेला र प्रशिक्षण चलाइरहेका छन् । पार्टीको विवाद निर्वाचन आयोगमा प्रवेश गरेको छ भने संसद् विघटनको मुद्दा अदालतमा छ ।

दुवै समूहले आफूलाई आधिकारिक नेकपा बताइरहेका बेला केन्द्र र जिल्ला–जिल्लामा पार्टी कार्यालय कब्जाको होडबाजी नै चलेको छ । अहिलेसम्म विभिन्न जिल्लामा करीब दर्जन कार्यालयमा ताला लगाइएको छ । ती सबै कार्यालयहरूमा ओली पक्षले ताला लगाउन शुरू गरेको हो ।

आइतवार ओली र प्रचण्ड–नेपाल दुवै पक्षका जिल्लाका नेतारकार्यकर्ताले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित पार्टी कार्यालय दाबी गर्दै ठेलमठेल गरे । यसअघि उक्त पार्टी कार्यालयको ढोकामा ओली पक्षले तालाबन्दी गरेको थियो । त्यहाँ अप्रिय स्थितिसमेत पैदा भएको लोकान्तरका सुदूरपश्चिम प्रदेश प्रतिनिधि जीवन विष्टले जानकारी दिएका छन् ।

एक साताअघि लमजुङको जिल्ला पार्टी कार्यालयमा पनि ओली पक्षले ताला लगाएको थियो । बेसीसहरस्थित नेकपाको पार्टी कार्यालय मदन–आश्रित स्मृति भवनमा ओलीनिकट राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताले ताला लगाएका थिए । अध्यक्ष मधुमाया अधिकारीलाई उनीहरूले दुई घण्टा कार्यकक्षमै थुने ।

त्यस्तै काभ्रेस्थित नेकपाको जिल्ला कार्यालयमा पनि ओली पक्षले ताला लगाएको छ । तत्कालीन एमालेले बनाएको दाबी गरिएको बनेपास्थित कार्यालयमा नयाँ ताला किनेर लगाइएको हो । अहिलेसम्म उक्त ताला खोलिएको छैन । गत मंगलवार पश्चिम नवलपरासीको पार्टी कार्यालयमा ओली पक्षले ताला लगायो ।

ओलीनिकट केही युवाहरूले मंगलबार दिउँसो परासीमा रहेको जिल्ला कार्यालयमा तालाबन्दी गरेका थिए । राष्ट्रिय युवा संघ, मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोर्टस् एकेडेमीका सदस्यहरूले उक्त कार्यालयमा तालाबन्दी गरेर कब्जा गर्न खोजेका हुन् । त्यस्तै आइतबारमात्रै बझाङमा ओली पक्षले लगाएको ताला प्रचण्ड–नेपाल पक्षले फोडेको छ ।

बल्खुमा प्रचण्ड–नेपाल पक्षको आँखा

गत बिहीवार विभाजित प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय प्रचण्ड र नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल बल्खुस्थित पार्टी कार्यालयको निरीक्षणमा पुगे । तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय निरीक्षण गर्न दुवै अध्यक्षसहित अनुशासन आयोगका प्रमुख अमृत बोहोरा पनि गएका थिए ।

बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गरेर दुवै अध्यक्षले बल्खुस्थित पार्टी कार्यालय आफ्नो भएको सन्देश दिएका थिए । त्यसपछि ओली पक्षले जिल्लास्थित कार्यालय कब्जाको रणनीति बनाएका हुन् । अध्यक्ष ओलीले एक टेलिभिजन कार्यक्रममा पूर्व एमालेको पार्टी कार्यालय आफ्नो हुने बताएका थिए ।

‘प्रचण्डजीले उहाँहरूको पार्टी कार्यालयको सम्पत्ति लिएर जानुहुन्छ,’ ओलीले अन्तर्वार्तामा भनेका थिए, ‘पेरिसडाँडाको सम्पत्तिको हक दाबी म गर्दिनँ । माधवकुमार नेपाल प्रचण्डजीको सेकेन्डम्यान भएर हिँड्नुभएको छ । प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ । त्यही नेतृत्वको मातहतमा रहन सिक्नुपर्यो नि !’

नेकपाको पार्टी कार्यालयको सम्पत्ति विवाद अझ अप्रिय ढंगबाट अघि बढ्ने देखिएको छ । ठाउँठाउँमा झडप हुने परिस्थिति पैदा भएको छ । प्रधानमन्त्री ओलीनिकट मानिने नेता महेश बस्नेतले पूर्व एमालेको पार्टी कार्यालयमा आँखा लगाए पेरिसडाँडासहित पूर्व माओवादीका सबै कार्यालय कब्जा गर्ने चेतावनी बस्नेतले दिएका छन् ।

ओलीनिकट नेता बस्नेतले भने, ‘बल्खु, धुम्बाराहीलगायत तत्कालीन एमालेले रगत पसिना लगाएर बनाएको पार्टी कार्यालयहरूमा आँखा नलगाउनुस् । देशभरका सम्पर्क कार्यालयमा आँखा नलगाउनुस्, हामी पेरिसडाँडामा पनि आँखा लगाउँदैनौँ । हाम्रो कार्यालयमा आँखा लगाउनुभयो भने हामी पनि आँखा लगाउँछौँ, पेरिसडाँडा कब्जा गर्नसक्छौँ ।’

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १०:१५