काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको पुष्टि गर्नुभएको छ ।
हिजो नेपाल आएलगत्तै भेटघाटमा सक्रिय रहेको टोलीले राष्ट्रपति विद्या भण्डारीसँग पनि शितलनिवासमा एक घण्टा भेटवार्ता गरेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको भेटका बारेमा औपचारिक जानकारी गराएको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली हिजो दिउँसो काठमाडौं आएको हो ।
पार्टी एकताको घोषणा गरेसँगै आन्तरिक कलहमा रुमलिएको नेकपाको विवाद समाधान गर्न यसअघि पटक पटक नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएपनि सफल हुन नसकेपछि राष्ट्रपति सी चिनफिङले विशेष दूत पठाउनुभएको हो ।
उपमन्त्री येचौको टोलीले दुई खेमामा विभाजित नेकपाका नेताहरुलाई एकताका लागि दबाव दिने स्रोतले बताएको छ । टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल र कृष्णबहादुर महरालगायतलाई समेत भेट्न बताइएको छ ।
उपमन्त्री येचौ यसअघि पनि तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएलगत्तै २०७४ सालमा काठमाडौं आउनुभएको थियो । उपमन्त्री येचैलाई नेकपा एकताको बाहिरी सुत्रधार पनि मानिन्छ ।
पार्टी विभाजनको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको नेकपाको विवाद समाधानका लागि पुन नेपाल आउनुभएका येचौ कसको निमन्त्रणमा आउनुभएको हो भन्ने खुलेको छैन ।
सत्यपाटी ।