सूचनाको शक्ति - The Power Of Information

        

नेकपा बझाङ्गको पार्टी कार्यालयमा ओली पक्षले लगायो ताला

बझाङ । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताले सदरमुकाम चैनपुरको पानकोटस्थित पार्टी कार्यालयमा ताला लगाएका छन् । आइतबार पार्टी कार्यालय पुगेका ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा गुट चलाएको आरोप लगाउदै ताला लगाएका छन् ।

साविकको एमालेको पार्टी कार्यालय रहेको भवनलाइ कुनै एक पक्षले गुटको कार्यालय बनाएकोले ताला लगाइएको अनेरास्ववियू बझाङका संयोजक प्रविन्द्र धामीले जानकारी दिए । नेकपाको एकता निकै जटिल र गम्भीर मोडमा पुगिसकेको बेला केहि दिनदेखि पार्टी कार्यालयमा एकतर्फी गुटका छलफल लगायत टुटफुटका गतिविधिमा सिङ्गो पार्टी कार्यालय प्रयोग भइरहेको हुँदा तालाबन्दी गरेको ओली पक्षका एक नेताले जानकारी दिए ।

आइतबार पार्टी कार्यालयमा तालाबन्दी गर्दै ओली पक्षले न्यायलयबाट फैसला नहुन्जेलसम्म ताला नखोलिने र जिल्लामा रहेका नेता कार्यकर्तालाई कुनै पनि गुट विशेष कार्यक्रममा सहभागी नहुनसमेत आग्रह गरेका छन् । ताला बन्दिमा अनेरास्ववियूका बझाङ जिल्ला संयोजक, पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार १५:५७