सूचनाको शक्ति - The Power Of Information

        

लागूऔषध निस्तेज महाअभियान

बाँकेमा लागूपदार्थको कारोबार र ओसारपसार डरलाग्दो

पछिल्लो तीन वर्षमा लागूऔषधसम्बन्धी ५८४ वटा मुद्दा दर्ता

बाँके । बाँकेमा पछिल्लो समय लागूपदार्थको कारोबार र ओसारपसार डरलाग्दो रूपमा देखिएपछि रोकथामका लागि यहाँको प्रहरीले लागूऔषध निस्तेज महाअभियान सञ्चालन गरेको छ । यो अभियानअन्तर्गत वडा तहसम्म समिति गठन गरी सचेतनामूलक अभियान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरीको पछिल्लो तथ्याङ् कअनुसार जिल्लामा लागूऔषधको कारोबार र ओसारपसारमा वृद्धि भएको पाइएको छ । बाँके प्रहरीले लागूऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर कानुनी कारबाहीमा तीव्रता दिइए पनि लागूऔषध विरुद्धको अभियान प्रभावकारी हुन नसकेपछि नागरिक समाज, स्थानीय सरकार र आमनागरिकसँग सहकार्यको नीति लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार पछिल्लो तीन वर्षमा लागूऔषधसम्बन्धी ५८४ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा ९९७ जनालाई लागूऔषधसहित पक्राउ गरिएको बताइएको छ । भारतबाट लुकिछिपी ब्राउनसुगर, कोरेक्स, नाइट्राजेपाम लगायतका लागूऔषध नेपालगन्ज भित्रिने गरेको छ ।

नेपालगञ्ज भएर विभिन्न पहाडी जिल्लामा उत्पादन हुने गाँजा, चरेश र अफिम भारत जाने गरेको प्रहरीले जनाएको छ । यस अभियानमा सबै पक्षको साथ र सहयोग अपरिहार्य छ, प्रहरी उपरीक्षक रानाले भने, ‘यो अभियान प्रहरीको मात्रै नभएर सम्पूर्ण जिल्लावासीको पनि हो ।’ पछिल्लो समय सीमा नाका बन्द भएको अवस्थामा समेत लागूपदार्थको ओसारपसार जारी रहेपछि सचेतनामूलक अभियानसँगै सीमामा सचेतता बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार १५:१३