सूचनाको शक्ति - The Power Of Information

        

राजावादीप्रति प्रधानमन्त्री ओली ‘नरम’

प्रधानमन्त्री ओलीले राजसंस्था फर्काउने सम्भावना : पूर्वराजदूत पुरी

काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको दाबी गरेका छन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतको अंग्रेजी राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’मा लेख लेख्दै पूर्वराजदूत पुरीले वर्तमान घटनाक्रम हेर्दा नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावनालाई नर्कान नसकिने विश्लेषण गरेका हुन् ।

पुरीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच यस विषयमा सम्झौता भएको हुनसक्ने आशंका गरेका छन् । उनले लेखेका छन्, ‘राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरबीच कुनै सम्झौता भएको हुन सक्ने देखिन्छ । पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन ।’

ओलीले पहिले पनि आफू सांस्कृतिक राजाका पक्षमा रहेको बताउने गरेको उल्लेख गर्दै पूर्वराजदूत पुरीले पूर्वराजा र ओलीबीच राजसंस्था फर्काउने सहमति भएको हुन सक्ने विश्लेषण गरेका छन् । पछिल्लो समय देशभर राजावादीको प्रदर्शन हुन थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित नेपालकै कतिपय राजनीतिक दलले समेत प्रधानमन्त्री ओली राजावादीप्रति ‘नरम’ देखिएको आरोप लगाइरहेका छन् ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार ०७:३७