सूचनाको शक्ति - The Power Of Information

        

नेकपामा आधिकारिकताको लडाइँ

‘ओली पक्ष चोइटिएको बोक्रा हो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजित समूह अहिले आ–आफ्नो समूहलाई आधिकारिकता दिने लडाइँमा छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनीधिसभा विघटन गरेपछि दुई समूहमा बाँडिएका नेकपाका नेताहरू अहिले साविक पार्टीको नाम र चुनाव चिह्न सूर्य आफ्नो समूहको हुनुपर्ने भन्दै रस्साकस्सीमा उत्रिएका छन् ।

प्रचण्ड–नेपाल समूह सडकमै उत्रिएर र ओली समूह संस्थापन भनेर आफ्नो समूहलाई बलियो र आधिकारिक बनाउने होडमा छ । यसै शिलशिलामा प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूले प्रधानमन्त्रीसमेत रहेका ओलीप्रति कडा कटाक्ष गरेका छन् । प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरू ओलीप्रति निकै आक्रामक रूपमा प्रस्तुत हुँदै वलीले कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाएर नवसामन्तका रुपमा उदाएको बताए ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई लाग्ने गरेको एमाले फुटाएको आरोपबारे शुक्रबार खण्डन गरेका थिए । पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले उल्टै प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाएको आरोप लगाए । उनले भने, ‘म त एमालेका सबै नेतालाई मिलाएर लैजाने भन्नेमै थिएँ, तर ओलीजीले आफैँ पार्टी फुटाउनुभयो ।’

त्यसक्रममा अध्यक्ष प्रचण्डले अहिलेको स्थिति आउनुमा पार्टी एकता गर्दा ओलीसँग गरेको सहमति सजिलै छोड्दै हिँड्नु आफ्नो भएको पनि उल्लेख गरे । पछिल्लो पटक करिब तीन वर्षको सहयात्रापछि ओलीको सार्वजनिकरूपमै विरोधमा उत्रिएका प्रचण्डले माधव नेपालसँग भने ५० वर्षदेखि सहकार्य भइरहेको बताए ।

अध्यक्ष नेपालले नेकपाको नाममा रहेका सबै पार्टी कार्यालय र सम्पत्ति आफूहरूकै भएको दाबी गरेका छन् । यसैसाता एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेता नेपाल प्रचण्डसँग लागेको भन्दै उनी प्रचण्डकै पार्टी कार्यालय र सम्पत्तिमा रमाउनुपर्ने बताएका थिए । नेता नेपालले विगतका कमी–कमजोरी महसुस गरेर पार्टीलाई अघि बढाउने संकल्पसमेत गरे ।

‘विधिलाई मिचेर जानु हुँदैन, पार्टी कमिटीको निर्णयअनुसार अघि बढ्ने हो,’ नेता नेपालले भने, ‘नेपालका कम्युनिष्टहरू अलोकतान्त्रिक बाटोमा जाँदैनन्, जानेहरू च्युत हुन्छन् ।’ वरिष्ठ नेता झलनाथ खनालले भने अझै पार्टी फुटिनसकेको दाबी गरेका छन् । संविधान र ऐन कानूनले नेकपा फुटाउन नमिल्ने भन्दै उनले संसद विघटन भइसकेको अवस्थामा केन्द्रिय कमिटीमा ४० प्रतिशत भएमात्र फुटेको भन्न मिल्ने तर्क गरे ।

अहिले बालुवाटारमा भइरहेको ओली पक्षको भेला चोइटिएको बोक्रा मात्र भएको खनालको दाबी छ । प्रचण्ड र नेपालले मात्र होइन, वरिष्ठ नेता खनालले पनि ओलीप्रति आक्रोश पोख्दै ओलीलाई विषालु सर्प ‘गोमन साप’सँग तुलना गरे । खनालले आठौं महाधिवेशनबाट अध्यक्ष हुन नपाएपछि ओलीले नेकपा भएपछि आफूसँग वरियतामा तलमाथि गरेर बदला लिएको बताए ।

तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपाका नेताहरू औपचारिकरूपमै दुई समूहका विभाजित भएर एक अर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । तर विभाजित समूहमा पूर्व पार्टी होइन, नयाँ समीकरण देखा परेको छ ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार १५:३७