काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले आफ्नो समूहले बनाएको केन्द्रीय समितिको विस्तार नभइ महाधिवेशन आयोजक समिति रहेकोे प्रष्टीकरण दिएका छन् ।
शनिबार ओली पक्षीय युव संघले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो प्रष्टीकरण दिएका हुन् । यद्यपी महाधिवशेन आयोजक समितिको हैसियत केन्द्रीय सदस्य सरहकै रहेको उनको भनाइ थियो ।
‘केन्द्रीय समिति विस्तार भनेर केही भ्रम रहेको पाइयो । यसमा पनि प्रष्ट पार्ने देखियो । हामीले विस्तार गरेको केन्द्रीय समिति होइन । महाधिवेशन सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो ।
यद्यपी यसका सदस्यको हैसियत केन्द्रीय समितिकै सदस्यको जस्तै भने हुन्छ । ’ उनले भने ।
अहिलेको समिति झुप्रो हो, घर महाधिवेशनले नै बनाउँछ
नेता बस्नेतले अहिलेको केन्द्रीय समितिलाई ‘एउटा घर भत्काएर अर्को नबन्दासम्म कामचालाउ रुपमा बनाइएको झुप्रो जस्तै’ भनेका छन् । उनले घर रुपी केन्द्रीय समिति भने सानो आकारको हुने दाबी गरे ।
महाधिवेशनले दुई सय देखि दुई सय ५० जनाको केन्द्रीय समिति हुने उनको विश्लेषण छ । ‘हामीले घर बनाउन सुरु गर्दा पुरानो घर भत्काइन्छ । नयाँ घर बनिसकेको हुँदैन ।
त्यतिबेला पनि बस्न त पर्छ नै । त्यति बेला बस्न एसो छेउमा बनाएको झुप्रो जस्तै हो अहिलेको मुल आयोजक समिति ।’ उनले भने,‘अधिवेशन पछि बन्ने केन्द्रीय समिति सानो दुई सय देखि दुईसय ५० सदस्यसम्मको बन्छ ।’
सत्यपाटी ।