सूचनाको शक्ति - The Power Of Information

        

७८६ उजुरीको सुनुवाइ नगर्ने अख्तियारको निर्णय

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धित १० हजार भन्दाबढी उजुरी तामेलीमा राखेको छ ।

आयोगले केही दिनअघि राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको ३०औं वार्षिक प्रतिवदेनमा ९ हजार ३८७ उजुरी प्रारम्भिक छानबिनपछि तामेलीमा राखिएको उल्लेख छ ।

यस्तै ७८६ उजुरी सुझावसहित तामेलीमा पठाइएको छ । यो अवधिमा १ अर्ब ९ करोड ६२ लाख बिगो माग दाबी गरेर विशेष अदालतमा २०० मुद्दा दर्ता गरिएका छन् ।

जसमध्ये गैरकानुनी सम्पत्ति आर्जनतर्फ १८ र एक करोड भन्दा बढी बिगो भएका मुद्दा २९ वटा छन् । जसमध्ये १५३ वटा मुद्दामा एक लाख भन्दा कम बिगो माग दाबी गरिएका छन् ।

आयोगले आर्थिक वर्ष २०७६/०७७ मा विशेष अदालतमा २ अर्ब ५३ करोड ६७ लाख बिगो माग दाबी गरेर १२१२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको जनाएको छ ।

मन्त्रालयगत हिसाबले गत आर्थिक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सबैभन्दा बढी उजुरी परेको छ ।स्थानीय तहमा समेत गरेर यो मन्त्रालय अन्गर्तत ३० दशमलव शून्य ७ प्रतिशत उजुरी परेको आयोगले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा १६ दशमलव ३६, भूमि प्रशासनमा ८ दशमलव २९ प्रतिशत उजुरी परेका छन् ।

त्यस्तै, दर्ता उजुरी मध्ये वन तथा वातावरणसँग सम्बन्धित ४ दशमलव २१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४ दशमलव शून्य ७ र गृह प्रशासनसँग सम्बन्धित ३ दशमलव ६५ प्रतिशत छन् ।

स्थापनाको ३० वर्षमा आयोगले २ हजार ८७८ मुद्दा अदालतमा दर्ता गरेको छ ।

जसअनुसार औसत प्रतिवर्ष ९६ मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा बढी ४४१ मुद्दा दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

विशेष अदालतमा दायर भएका मुद्दा मध्ये ८५ प्रतिशत अर्थात १६७ वटा मुद्दा आयोगले जितेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार ११:३२