सूचनाको शक्ति - The Power Of Information

        

कार्यकर्ताविहीन भएपछि सुदूरपश्चिममा ‘लेखराज र कर्ण’को बिजोग

कैलाली । संसद विघटनपछि सत्तारुढ नेकपाभित्र दिनहुँ केही न केही खिचडी पाक्न थालेको छ । लामो आन्तरिक विवाद र गुटगत राजनीतिले नेकपा अब आधिकारिक रुपमा फुट्न मात्र बाँकी छ । केन्द्रको विवादले प्रदेश, जिल्ला र स्थानीय तहमा निकै प्रभाव परेको छ । नेकपा सुदूरपश्चिममा प्रचण्ड–नेपाल समूहको स्पष्ट बहुमत देखिएको दाबी गरिएको छ ।

नेकपा प्रदेश सुदूरपश्चिम इञ्चार्ज भीम रावल नै माधव नेपाल पक्षधर भएपछि प्रदेशको राजनीतिमा खासै ठूलो प्रभाव पर्ने अवस्था देखिएको छैन । तर पछिल्लो समय नेकपा सुदूरपश्चिममा हाबी हुँदै गएका ओली समूहका दुई ठूला नेता भने कार्यकर्ताविहीन बनेका छन् । नेकपा प्रदेश अध्यक्ष कर्ण थापा लामो समयदेखि ओलीनिकट मानिन्थे ।

अहिले पनि उनी ओली समूहमै छन् । थापा निकट कार्यकर्ता भने सुदूरपश्चिममा पहिलेदेखि नै थिएनन् । यस्तै पूर्व माओवादीमा हुँदा सुदूरपश्चिमका पहिलो नम्बरका नेता मानिने लेखराज भट्ट पनि मन्त्री पद पाएपछि ओली समूहमा सरेका छन् । पूर्वमाओवादीमा हक जमाएर बसेका लेखराजलाई सुदूरपश्चिममा पूर्वमाओवादीका कार्यकर्ताले पनि नम्बर ‘वन’ कमाण्डर नै मान्थे ।

उनी, पुष्पकमल दाहाल नजिक भएकाले पार्टीमा उनको बोली पनि बिक्थ्यो । तर लेखराज ओली समूहमा गएपछि उनलाई सुदूरपश्चिममा पूर्वमाओवादी केन्द्रका नेता कार्यकर्ताले साथ छोडेका छन् । स्थायी कमिटी सदस्य लेखराज एकतापछि प्रदेशमा पार्टीको कुनै जिम्मेवारीमा थिएनन् । प्रदेशमा जिम्मेवारी नपाए पनि उनको प्रदेशमा सरकार र पार्टीमा राम्रो प्रभाव थियो ।

सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री त्रिलोचन भट्ट, अर्थमन्त्री झपट बोहरा र कृषि मन्त्री विनिता चौधरी उनकै कार्यकर्ता थिए । अहिले तीनै जना प्रचण्ड–नेपाल समूहमा छन् । सबैभन्दा नजिकका मुख्यमन्त्री त्रिलोचनले समेत साथ छोडेका छन् । लेखराजले नै मुख्यमन्त्री बनाएका त्रिलोचनले आफ्नो गृहजिल्ला डोटीबाट प्रदेशको राजधानीसमेत लेखराजको गृह वडा कैलालीको गोदावरीमा सारेका थिए ।

पूर्वमाओवादीकै वीरभान चौधरीलाई पाखा लगाएर आफूनिकट त्रिलोचनलाई मुख्यमन्त्री बनाएपछि नेकपा सुदूरपश्चिममा लेखराज केही समय हावी हुँदै आएका थिए । उनले प्रदेश राजनीतिमा हस्तक्षेप गरेपछि प्रदेश अध्यक्ष थापाले प्रदेश कमिटीको बैठकमा लेखराजलाई ‘तपाईंको प्रदेश कमिटीको बैठकमा आउने कुनै अधिकार छैन’ भन्नसम्म भ्याएका थिए ।

अहिले लेखराज र कर्ण थापा ओली समूहमै छन् । तर दुवै कार्यकर्ताविहीन बनेका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई पनि लेखराजले आफ्नो पक्षमा तान्न सकेका छैनन् । जसका कारण सुदूरपश्चिम सरकारमा ओली पक्ष अल्पमतमा देखिन्छ । प्रदेश सभामा नेकपाका ३९ सदस्यमध्ये ३४ जना दाहाल–नेपाल पक्षमा छन् । ओली समूहमा प्रस्टसँग खुलेका एक मन्त्रीसहित चार जना सांसद मात्र छन् ।

भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सांसद रतन थापा, महेशदत्त जोशी र प्रदेश सभा सदस्य नेपालु चौधरी ओली समूहमा छन् । चारमध्ये तीन जना पूर्वएमालेबाट विजयी भएका प्रदेश सासंद हुन् । ३९ जना नेकपाका प्रदेशसभा सदस्यमध्ये १४ जना पूर्वमाओवादीबाट विजयी भएका थिए । १४ जनामध्ये लेखराजले आफ्नो पक्षमा स्पष्ट खुल्ने गरी एक जनालाई पनि उभ्याउन सकेका छन् ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार ०८:११