काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता विवादमा न्यायोचित निर्णय गर्ने बताएको छ । ऐनले दिएको अधिकार प्रयोग गरी तोकिएको अवधिमै विवादको निरुपण गर्ने आयोगले बताएको हो ।
आधिकारिकता दाबी गर्दै आयोग पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरूसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको अवधि अगावै विवादको निरुपण गर्ने विश्वास दिलाएका हुन् । ‘निर्वाचन आयोगले यसलाई प्रचलित कानूनको परिधिभित्र रही अत्यन्तै न्यायोचित निर्णय दिनुपर्छ भन्ने कुरामा म यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु,’ थपलियाले भने ।
आयोगमा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले २०४७ सालमा बडो कष्टका साथ सूर्य चिह्न आफूहरूले पाएको भन्दै आयोगले विवेकसम्मत र न्यायोचित निर्णय गर्ने विश्वास लिए । त्यसअघि प्रचण्ड–नेपाल लगायतका नेताहरू माइतीघर मण्डलाबाट हिँड्दै निर्वाचन आयोग पुगेका थिए । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पनि आधिकारिकता दाबी गरेपछि नेकपा विवाद निर्वाचन आयोगमा पुगेको छ ।
यसैबीच, आधिकारिकता दाबीका लागि जुलुससहित निर्वाचन आयोग पुगेको प्रचण्ड–माधव नेपाल समूहले आफूहरू नै आधिकारिक नेकपा भएको दलिल पेश गरेको छ । ‘हामी यहीँ छौं’ लेखिएको प्लेकार्ड र सूर्य चिह्नसहित निर्वाचन आयोग पुगेका नेताहरूले आफूहरूसँग बहुमत केन्द्रीय सदस्य रहेकाले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरे । त्यसक्रममा निर्वाचन आयोगको बार्दलीबाट जनार्दन शर्मा र योगेश भट्टराईले कार्यकर्तासामु सूर्य चुनाव चिह्न प्रदर्शन गरेका थिए ।
सत्यपाटी ।