काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।
शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् । कानुनमन्त्री जमरकट्टेलका अनुसार प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराइएको छ । अविश्वासको प्रस्तावमा ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।
पुस ५ गते संसद् विघटन भएपछि त्यसविरुद्ध नेकपामै दुई गुट देखिएका छन् । त्यसको असर केन्द्रदेखि प्रदेशसम्म पर्न थालेको छ । यता, प्रचण्ड–नेपाल पक्षले आज काठमाडौँको माइतीघरबाट आन्दोलन गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी भएका छन् ।
प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु र निवर्तमान सांसदहरु माइतीघरको प्रदर्शनपछि आजै १२ बजे निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोग पुगेर आफू वैधानिक नेकपा भएको र आफूहरूसँग बहुमत रहेको प्रमाणित गर्ने मंगलबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगमा जाने निर्णय गरेको थियो ।
सत्यपाटी ।