सूचनाको शक्ति - The Power Of Information

        

पति विदेशमा, पत्नी परपुरुषसँग बेपत्ता

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग बेपत्ता भएकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

हराएकी महिला खोज्न प्रहरी सक्रिय रहेकै अवस्थामा दुई दिनपछि पुनः उनै व्यक्तिले बेपत्ता बुहारीकी तीन वर्षीया छोरी पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न भने नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । ‘पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौँ । तर, उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन,’ उनले भने ।

पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता लगाइसके पनि कसैलाई भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ‘ती बालिकालाई पनि उनीहरुले सँगै लगेको हुनसक्ने अनुमान गरेका छौँ,’ प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले भने, ‘प्रहरीले ती महिला र पुरुषको खोजी कार्यलाई तीव्रता दिँदै आएको छ ।’

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार ०८:४१