सूचनाको शक्ति - The Power Of Information

        

पुरानै फिल्म रिलिज गर्दै शुक्रबारबाट हल खुल्ने

काठमाडौं । गत वर्षको चैत्रयता बन्द रहेको फिल्म हल भोलि शुक्रबारबाट खुल्दैछ ।

नेपाल चलचित्र संघको घोषणा अनुसार शुक्रबारबाट फिल्म हल खुल्न लागेको हो । फिल्म रिलिजका लागि अहिले अधिकांश हलले आन्तरिक तयारी गरिसकेको नेपाल चलचित्र संघले जनाएको छ ।

लामो समयदेखि बन्द रहेको फिल्म हल खुल्दा पहिले कुन फिल्म रिलिज होला त ? सबैको चासोको विषय अहिले यही रहेको छ । नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा भोलिबाट  पुरानै फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ लगाउने तयारी रहेको बताउँछन् ।

‘कोरोनाको कारणले लकडाउन हुन अगाडि रिलिज भएको फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’नै हल खुल्दा लाग्ने पहिलो फिल्म हो’ शर्माले भने, ‘एक दुईटा अंग्रेजी फिल्म पनि आउन सक्छ ।’

‘आमा’, ‘सेन्टिभाइरस’ र ‘छक्का पन्जा ३’ पहिलो चरणमा लगाउने सोच संघले बनाएको भएपनि ‘छक्का पान्जा ३’ हिजोबाट युट्युवमा आएकोले दुई नेपाली फिल्म मात्र रिलिज  गर्न लागिएको शर्माको भनाइ रहेको छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरीलगायतका कलाकारको अभियन छ ।‘सेन्टिभाइरस’ रामबाबु गुरुङको निर्देशन रहेको फिल्म हो ।

फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, वसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार ११:२३