काठमाडौं । अफ्रिकी देश इथियोपियाको पश्चिमी क्षेत्रमा अपरिचित आक्रमणकारीले एक सय जना भन्दा धेरैको हत्या गरेका छन् ।
इथियोपियाको बेनिशान्गुल–गुमुज क्षेत्रमा बुधबार आक्रमण भएको र त्यसमा १०० जना भन्दा बढिको ज्यान गएको त्यहाँको मानवअधिकार आयोगले जनाएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा कार्यरत नर्सका अनुसार सो आक्रमणमा ३० जना भन्दा बढि भाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ ।
केहीमाथि गोली प्रहार भएको र अरुलाई चक्कुसहितका धारिलो हतियारले आक्रमण भएको ती नर्सले बताएकी छन् ।
प्रधानमन्त्री एबी अहमदले सो क्षेत्रको भ्रमण गरेको भोलिपल्ट आक्रमण भएको हो ।
बेबोजी नाम गरेको गाउँमा आक्रमण भएको इथियोपियाको मानवअधिकार आयोगले जनाएको छ । सो क्षेत्रमा विभिन्न आदिवासी समुदायको बसोबास छ ।
मानवअधिकार आयोगले भनेको छ, ‘हतियारधारीहरुको आक्रमणबाट १०० जना भन्दा धेरैको ज्यान गएको छ ।’ शान्ति विरोधी तत्वले आक्रमण गरेको राज्य सरकारका प्रवक्ताले बताएका छन् ।
पछिल्ला महिनाहरुमा सो क्षेत्रमा आदिवासी समुदायसँग जोडिएका हिंसा बढेका छन् । सोही विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री त्यहाँ गएका थिए ।
सत्यपाटी ।