सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका–७, निवासी ७५ वर्षीय पुरूषको मृत्यु भएको हो । उनको बुधबार विहान ३ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
श्वासप्रश्वास सम्बन्धी बिरामी रहेका उनलाई सास फेर्न गाह्रो भएपछि पुस १ गते प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनमा सोही दिन नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो ।
प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ । उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको छ ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २३ पुगेको छ ।
सत्यपाटी ।