सूचनाको शक्ति - The Power Of Information

        

बलात्कारको मुद्दामा तत्कालिन राजपाका नेतालाई १० वर्ष कैद

काठमाडौं ।   बलात्कार र ठगी गरेको मुद्दामा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)का सप्तरी जिल्ला कोषाध्यक्ष जेल चलान भएका छन् ।

तीस वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा तत्कालिन राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोजकुमार मेहतालाई १० वर्ष कैद सजाय तोकिएको हो ।

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मेहतालाई १० वर्ष कैद सजायको फैसला गरेको हो ।

अभियुक्तलाई जबर्जस्ती करणीमा सात वर्ष कैद र ३० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

अभियुक्तले विसं २०७५ असोज १९ गते बलात्कार गरेको भन्दै पीडितले २०७५ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन्।

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका पीडितका श्रीमान्लाई छुटाइ दिने प्रलोभन देखाई मेहताले पटक–पटक ठगी गर्नुका साथै राजविराज नगरपालिका–४ स्थित अशोक लजमा लगेर बलात्कार गरेको पीडितको दाबी थियो ।

प्रकाशित मिति : ८ पुष २०७७, बुधबार ०८:४८