सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटन विरुद्ध परेको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन विरुद्ध दायर रिट निवेदनमाथि आजबाट सुनुवाई गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गरेपछि सोविरूद्द १३ वटा रिट दायर भईसकेका छन् । ती मध्ये एउटा रिट निवेदन सोझै संवैधानिक इजलासमा गएको छ भने बाँकी साधारण प्रकृतिका छन् ।

सवैधानिक इजलासमा दर्ता भएको निवेदनको पालो भने आगामी शुक्रबार आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ । संसद् विघटन विरुद्ध नेकपाका सांसदले पनि रिट दर्ता गराएका छन् ।

संसद विघटन असंवैधानिक भन्दै मंगलबार प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, सांसदहरु कृष्णभक्त पोख्रेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका हुन् ।

रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : ८ पुष २०७७, बुधबार ०८:४४