सूचनाको शक्ति - The Power Of Information

        

सौराहामा पहिलो पटक ‘घुमौँ सौराहा अभियान’

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा पहिलो पटक पर्यटन प्रर्वद्धनका लागि घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ । नाकावन्दी, भुकम्प, मुग्लिन नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोना भाईरससगैँ ठप्प बनेको थियो । जसका लागि होटल व्यवसायीहरुको साझा संस्था क्षेत्रिय होटल संघ सौराहाको आयोजनामा घुमौँ सौराहा अभियान सुरु गरिने भएको हो ।

आन्तरीक पर्यटनमार्फत क्रमिकरुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आकर्षित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसगैँ व्यवसायीक भेटघाट राख्दै यहि पुस १० गतेबाट अभियान सुरु गरिने क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । अभियानको क्रममा पुस १० विराटनगर, पुस ११ जनकपुर, पुस १२ विरगंज विविध कार्यक्रम गरिनेछ ।

कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प छ अध्यक्ष दिपकले भने, स्वदेशभित्र भने घुम्न र पर्यटकहरुलाई आर्कषित गर्न घुमौँ सौराहा अभियान सुरु गर्न लागेका हौँ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिने योजना अनुसार सुरु गरिने कार्यक्रमले सौराहाको पर्यटनमा नयाँ आयम थपिने होटल संघका महासचिव गुणराज थपलियाले बताए कोरोनाका कारण घरमै बस्दा हैरान भएको व्यक्तिहरु घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेजसहित कार्यक्रम घोषण गर्ने संघले जनाएको छ । ‘हाम्रो उद्देश्य नेपालीहरुले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यता अनुसार सस्तो प्याकेजसहित घुमौँ सौराहा अभियान ल्याएका हौं,’ थपलियाले भने, ‘यसले सबैलाई आर्कषित गर्नेछ ।’

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार ०७:२८