सूचनाको शक्ति - The Power Of Information

        

अन्ततः नेकपा विभाजन

३२ महिनामै फुट्यो नेकपा, प्रधानमन्त्री ओलीलाई आज कारबाही, माधव नेपाल अध्यक्ष

दुवै पक्षले एकअर्कामाथि कारबाहीको तयारी गरेका छन् ।

काठमाडौं । एकीकरणको ३२ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिकरुपमा फुट्ने भएको छ । मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै स्थान र समयमा केन्द्रीय कमिटीको बैठक बोलाएपछि नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका हो । दुवै पक्षले एकअर्कामाथि कारबाहीको तयारी गरेका छन् ।

ओलीले मंगलबार बिहान ९ बजे बालुवाटार र प्रचण्डले दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओली पक्षका कार्यालय सचिव ईश्वरी रिजालले बिहान ९ बजेको बैठकमा उपस्थितिका लागि केन्द्रीय सदस्यहरुलाई एमएमएसमार्फत जानकारी दिएका छन् । त्यसैगरी प्रचण्ड पक्षका कार्यालय सचिव श्रीराम ढकालले दिउँसो १ बजे बैठकमा बोलाएका छन् ।

यसअघि शनिबार र आइतबारको स्थायी कमिटीको बैठकमा ओली पक्षका सदस्यहरु अनुपस्थित थिए। सोमबार पनि सांसदहरुको छुट्टाछुट्टै भेला भएको थियो । ‘राजनीतिक रुपमा पुस १ गते नै पार्टी फुटिसकेको हो । कानुनी रुपमा विभाजन हुन भने बाँकी नै छ,’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘पहिलो अध्यक्षले बैठक बोलाउने हो । पहिलो अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । उहाँले बोलाएको बैठक नै वैधानिक हो ।’

उनले सो बैठकमा प्रचण्डपक्षीय नेताहरुमाथि कारबाही गरिने बताए । ‘संसदीय दलका नेता (केपी शर्मा ओली)लाई जानकारीसमेत नदिएर समावेदन गर्ने जुन कार्य गर्न खोजियो त्यो अनुशासन उल्लंघन हो । त्यो कारबाहीको विषय हो,’ गुरुङले भने । ओलीले अध्यादेश ल्याएपछि संसद् अधिवेशन माग गर्दै ८३ सांसदको हस्ताक्षर बोकेर स्थायी कमिटीका सदस्य भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगेका थिए । तर, उनीहरुको निवेदन दर्ता गरिएन ।

यद्यपि, गुरुङले ककसलाई कारबाही हुन्छ भन्ने चाहिँ खुलाएनन् । ओलीनिकट केही नेताले भने प्रचण्डमाथि नै कारबाहीको प्रस्ताव आउने दाबी गरे । अर्कोतिर, प्रचण्ड–माधव नेपाल पक्षले पनि मंगलबार हुने केन्द्रीय कमिटीबाट प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको तयारी गरेको छ । आइतबार भएको स्थायी कमिटीको बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रचण्ड–नेपाल पक्षले मंगलबार दिउँसो एक बजेअघि नै स्थायी कमिटीको राखेर कारबाहीको ठोस प्रस्ताव तयार गर्नेछ । ‘स्थायी कमिटीले प्रधानमन्त्रीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरिसकेको छ । ठोस कारबाही के हुने भनेर केन्द्रीय कमिटीबाट पारित गरिनेछ,’ स्थायी कमिटीका सदस्य बेदुराम भुसालले भने, ‘संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरिसक्नु भयो । हामी बहुमत भएको पक्ष हो । चोइटिएर जाने समूहले निर्वाचन आयोगमा दल दर्ता गरेपछि कानुनी रुपमा विभाजन हुन्छ ।’

प्रचण्ड–नेपाल पक्षले ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै उनीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गर्न लागेका हुन् । ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको प्रतिनिधि सभाको विघटन गरेर देशमा राजनीतिक संकट निम्त्याएको आरोप लगाएका छन् । सोही बैठकबाट माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी पनि रहेको एक स्थायी कमिटी सदस्यले भने ।

‘केन्द्रीय कमिटी बैठकअघि बस्ने स्थायी कमिटी बैठकले ओलीमाथि कारवाहीको प्रस्ताव तयार पार्छ र त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘त्यही बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी छ ।’ उनका अनुसार पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था रहेकोले रिक्त हुने स्थानमा नेपाललाई अध्यक्ष बनाइनेछ । सोमबार नै स्थायी कमिटी बैठक बस्ने भनिए पनि सांसदहरुसँग छलफल, सर्वदलीय बैठक र आपसी छलफल आदिमा दिनभर व्यस्त भएको भनी सो बैठकलाई मंगलबारको लागि सारिएको थियो ।

आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेलगत्तै बसेको स्थायी कमिटी बैठकले पनि अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । ओली पक्षका सदस्य अनुपस्थित रहेको सो बैठकले ठोस कारवाही भने गरेको थिएन । महिनौंदेखिको तिक्ततापूर्ण झगडा जारी रहेपनि औपचारिक रुपमा एउटै पार्टी रहेको नेकपा, आइतबारको प्रधानमन्त्रीको कदमले औपचारिक रुपमैं विभाजनको प्रक्रियामा अघि बढेको छ ।

नेताहरुले राजनीतिक रुपमा पार्टी विभाजन भैसकेको र विभाजनले कानुनी औपचारिकता पाउन मात्र बाँकी रहेको बताएका छन् । यसअघि मंगलबार आफू्निकट नेताहरुलाई बालुवाटार डाकेर ओलीले आफूमाथि कारबाहीको नाटक रच्न लागेको बताएका थिए । ‘साथीहरुले मलाई कारबाही गरेको भन्दै हुनुहुन्छ । उहाँहरुले चार्ली च्याप्लिनलाई पनि माथ खुवाउने नाटक गर्दै हुनुहन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘म पहिलो अध्यक्ष हुँ, मैले बोलाएको बैठक मात्रै वैधानिक हुन्छ ।’

तर स्थायी कमिटीका सदस्य भुसाल भने त्यो तर्कसँग सहमत छैनन् । ‘हाम्रो विधानले पहिलो र दोस्रो अध्यक्षको कुनै व्यवस्था नै गरेको छैन,’ भुसालले भने, ‘निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कमिटीको सूचीमा जसको बहुमत छ, त्यो आधिकारिक दल हो ।’ नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७४ असोजमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन संयुक्तरुपमा लड्ने गरी गठबन्धन निर्माण भएको थियो । दुवै दलले निर्वाचनपछि एकीकरण गर्ने घोषणा गरेका थिए ।

त्यसैअनुसार २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता गरी नेकपा गठन गरिएको थियो । जसलाई चीन र भियतनामपछि एसियाको तेस्रो शक्तिशाली कम्युनिस्ट पार्टी मानिएको थियो । यद्यपि, चीन र भियतनामका कम्युनिस्ट पार्टीले राजनीतिक क्रान्तिपछि सत्ता कब्जा गरेका थिए । नेकपाले भने आवधिक निर्वाचनमार्फत झण्डै दुई तिहाइ बहुमत गरेको थियो । तर, त्यो पार्टी एक कार्यकाल पनि टिक्न सकेन ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार ०७:१५