सूचनाको शक्ति - The Power Of Information

        

पहिरो खस्दा एक मजदुरको मृत्यु, दुई घाइते

भक्तपुर । चाँगुनारायण नगरपालिका -५ छालिङको छायाँबस्तीमा बाटो निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा एकजनाको मृत्यु भएको छ भने दुई मजदुर घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार छायाँबस्तीस्थित माथिल्लो मगर चोकबाट वरदानेश्वर महादेव जाने बाटो निर्माण गर्ने क्रममा आइतबार अचानक माथिबाट पहिरो खसेको थियो।

पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिशंखुपाखर गाँउपालिका- ४ घर भई हाल छायाँबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

त्यस्तै लिशंखुपाखर गाउँपालिका- ४ नै घर भई हाल छायाँबस्तीमै बस्ने ४४ वर्षीय प्रेम लामा र रामेछापको सुनापाती गाउँपालिका घर भई हाल छायाँबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङ घाइते भएका छन्।

नायब उपरीक्षक गिरीका अनुसार पहिरो खसेर घाइते भएका तीनैजनालाई उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। निमा लामाको भने मृत्यु भइसकेको भक्तपुर अस्पतालका चिकित्सकले घोषणा गरेको उनले जानकारी दिए।

घाइते प्रेम र भुपालसिंहलाई थप उपचारको लागि क्रमशः अर्थोपेडिक अस्पताल नारायणटार काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए।

घाइतेमध्ये प्रेम उपचारपछि घर फर्किएका छन्। भुपालसिंह भने थप उपचारको लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर भएको उनले जानकारी दिए।

बाटो क्रममा पहिरो खस्दा घाइते भएका मजदुरहरुलाई महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ११:०४