सूचनाको शक्ति - The Power Of Information

        

तिमल्सिना र रम्तेलद्वारा पद अस्वीकार

काठमाडौं । समावेशी आयोगको सदस्यमा सिफारिस हुनुभएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकार गर्नुभएको छ ।

संवैधानिक परिषद्ले आयोगको सदस्यमा सिफारिस गरे पनि आइतबार तिमल्सिनाले आफ्नो फेसबुकमार्फत् पद अस्वीकारको घोषणा गर्नुभएको हो । तिमल्सिनाले आफ्नो इच्छाबिना नै राजनीतिक नियुक्ति दिइएको भन्दै आयोगको सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताउनुभएको छ । तिमल्सिना सर्वाेच्च अदालतका पूर्व रजिस्ट्रार समेत रहनुभएको छ ।

 ​

उहाँ भन्नुहुन्छ, ‘समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाएँ । मैले यस पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन । यस पदमा जाने मेरो रहर पनि छैन ।’

यस्तै राष्ट्रिय दलित आयोगका सदस्य परशुराम रम्तेलले पनि पद अस्वीकार गर्नुभएको छ । नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको रम्तेलको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार रम्तेलले आफ्नो सहमतिबिना नै नाम सिफारिस भएको बताउनुभएको छ ।

‘राष्ट्रिय दलित आयोगको सदस्यमा मेरो नाम पनि उल्लेख भएको छ, ‘सहमति विपरीत नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको संवैधानिक सिफारिसको र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु’ उहाँले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०८:२२